चितुवा नियन्त्रणका लागि जिल्लाको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठको खोर राखिएपछि आइतबार बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि भानु नगरपालिका २ स्थित मजुवा ओख्ले सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।
डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको जानकारी दिए । उक्त चितुवालाई बुटवलको मणिमुकुन्द सेन पार्कमा रहेको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको छ । सहायक वन अधिकृत उप्रेतीका अनुसार उक्त चितुवा अन्दाजी ८/९ वर्षको रहेको छ । 'उक्त चिडियाखानमा एउटा भाले चितुवा पनि रहेछ, त्यही भएर पोथी चितुवालाई त्यहाँ स्थानान्तरण गरिएको हो,' उप्रेतीले भने ।
भानुमा बालबालिकामाथि आक्रमण गर्ने पोथी चितुवा हुन सक्ने अनुमान छ । भालेभन्दा पोथी चितुवा नरभक्षी हुने वनका प्राविधिकको भनाइ छ । खोर निर्माण गरिएपछि दुई भाले र दुई पोथी गरी ४ चितुवा नियन्त्रणमा आइसकेको छ । यसअघि असोज १६, कात्तिक ११ र कात्तिक २६ गते काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो । खोरमा परेको चितुवामध्ये एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यानमा र दुई वटालाई चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गरिएको थियो ।
भानु नगरपालिका १, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरी राखिएको छ । चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । हाल यहाँका ५ सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि ६ वटा परम्परागत काठको खोर राखिएको छ ।
तीनवटा काठको खोर निर्माणाधीन अवस्थामा छ । देउराली सामुदायिक वन, कालिका सामुदायिक वन, मिनेश्वरी सामुदायिक वन र भीमसेनथुम्की सामुदायिक वनमा एक÷एक र मजुवा ओख्ले सामुदायिक वनमा दुईवटा काठको खोर राखिएको छ ।
चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी देखिएपछि केही दिनअघि मात्रै डिभिजन वन कार्यालय र भानु नगरपालिकाले खोर बनाउने व्यक्ति र सामुदायिक वनहरुलाई नगदसहित पुरस्कृत गरेको थियो । चितुवा नियन्त्रणका लागि यहाँ राष्ट्रिय प्रकृति संरक्षण कोषबाट पनि प्राविधिक परिचालन भएका छन् ।
भानु नगरपालिका १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका ३, दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका ४, जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका २, ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका २, भकुण्डथोककी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका १, जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका २, फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ । -रासस