जिल्ला प्रहरी कार्यालय काभ्रेलगायत विभिन्न इलाका प्रहरी र चौकीमा थन्किएका मोटरसाइकल व्यवस्थापन गर्नै कठिन भएको छ । काभ्रेका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) जयराज सापकोटाले जाँच गर्दा नवीकरण फेल भएका, बेवारिसे अवस्थामा फेला परेको र सवारी दुर्घटनाको क्रममा कानुनी कारबाहीका लागि कार्यालयमा ल्याउने क्रममा त्यस्ता मोटरसाइकलको आधिकारिता खोजिने बताए ।
तर, त्यो प्राप्त नभएसम्म प्रहरी कार्यालयमा नै राखिने गरेको कारण मोटरसाइकल थुप्रिएको हो । मोटरसाइकल जिल्ला प्रहरी कार्यालय परिसरमा ५१ छन् । अन्य इलाका प्रहरी र चौकीमा २०-२५ मोटरसाइकल छन् ।
थन्क्याइएको मोटरसाइकल व्यवस्थित गर्न झन्झटिलो भएकाले त्यतिकै राखिएको छ । त्यस्ता मोटरसाइकल बुझाउने भन्सारमा भए पनि प्रक्रिया झन्झटिलो भएकाले थुपारेर राखिएको प्रहरीले जनाएको छ ।
“मुद्दा चलेकाको हकमा अदालतको आदेशपछि सम्बन्धित धनीले पाउने हो, केही सवारीसाधनको अन्तिम टुंगो लाग्न बाँकी रहेकाले थन्किएका छन्”, उनले भने, “चोरीका मोटरसाइकल धनी नआएकाले थन्किरहेका छन् ।” जिल्ला प्रहरी कार्यालय धुलिखेलमा अभिलेखमा नदेखिएको २०, बेवारिसे १८, सवारी दुर्घटनको ९, पाँच वर्ष अवधि नवीकरण फेल भएका ३ र शंकास्पद एक गरी ५१ मोटरसाइकल थुपारेर राखिएको छ । -रासस