१० वर्षअघि घरनजिकै प्रशस्त घाँस, दाउरा पाउने नलगाड नगरपालिका ८ का हरिबहादुर खत्री अहिले दिनभरि जंगल धाउँदा पनि मुस्किलले एक भारी घाँस दाउरा संकलन गर्छन् । घाँस मात्र होइन, घरनजिकै घनाजंगल र वन्यजन्तु भेटिने हुँदा सजिलै बालबालिका घर बाहिर जान डराउँथे ।
बिहान जंगल लगिएका घरपालुवा जनावर थोरै समयमा पेटभरि घाँस खाएर समयमै घर फर्कने गरेको अनुभव सुनाउँछन् खत्री । एकै घरमा ५ भन्दा बढी भैँसी र ४० भन्दा बढी भेँडा, बाख्रा पाल्दा आम्दानीको स्रोत राम्रो हुने गरेको उनी बताउँछन् ।
विगतमा घनाजंगल भएको ठाउँमा अहिले खेतबारी, घर निर्माण गरिएका छन् । उनी भन्छन्, 'पहिले मानिस मृत्यु हुँदा गाडिएका खाडलमा अहिले हाम्रा गाउँलेका घर छन्, स्याल, बाघ कराउने वन फँडानी गरेर अन्नबाली लगाइएको छ ।'
चारैतिरबाट वन जंगल फँडानी गरेर नयाँ बस्ती बसाउँदै गाउँ नै बनाउने क्रम नरोकिँदा प्रकृतिको दोहन भएको बारेकोट गाउँपालिका ५ का जनकबहादुर शाहीको आरोप छ । उनी भन्छन्, “हामीले वन जंगल संरक्षण भन्दा वन फँडानी गरेर आफ्नो बाच्ने आधार खोजिरहेका छौँ, यो क्रियाकलापले हामीलाई नै क्षति पुर्याएको छ, हिजो भएका पानीका मूल अहिले विस्तारै सुक्दैछन् ।”
१० वर्षअघि सजिलै घाँस, दाउरा, कालिज पाउने ठाउँमा अहिले मानव बस्ती छन् । एउटा लौरी बनाउने काठ खोज्न त २ घण्टा खर्चनुपर्ने गुनासो गर्दै उनले भने, “राज्यले बनाएका नीति नियम हामी आफैँ मान्दैनौँ, समुदायिक वन समूह कमाइ खान केन्द्रित भए, कसरी हुन्छ नियन्त्रण ? रक्षक नै भक्षक भएपछि ।”
जिल्लाका सामुदायिक वन समूहले वन जंगल संरक्षणका लागि हर समय चिन्तित हुनुपर्ने हो । कसरी कमाउन सकिन्छ भन्ने चिन्ताले गर्दा सामुदायिक वन दैनिक मासिँदै गएको डोल्पा मुड्केचुला गाउँपालिका ७ का कृष्णबहादुर सिंहको आरोप छ । उनी भन्छन्, “सामुदायिक वन कब्जा गरी व्यक्तिले भोगचलन गर्ने क्रम बढेको छ, स्थानीय सरकारले सूचना वडा कार्यालयमा टाँस्दैमा वन फँडानी र वन्यजन्तुको संरक्षण हुन्छ भन्नु सपना मात्र हो ।”
वन मासिँदै जाँदा आजभोलि जंगली जनावार गाउँमा पस्न थालेको स्थानीयको भनाइ छ । दैनिक मानव र वन्यजन्तुको भीडन्त हुँदा समस्या उत्पन्न भएको छ । दसैंको मुखैमा नलगाड नगरपालिका ६ मा भालुको आक्रमणमा एकजना घाइते भए । बारेकोट गाउँपालिका ४ गोठगाउँमा भालुकै आक्रमणमा २ घाइते भए । एउटा गाई मर्यो । हरियो वन नेपालको धन भन्ने उखान विस्तारै हरियो वन बाठा-टाठाको धन भएको छ भन्छन् भेरी नगरपालिका १ का रामबहादुर खत्री । वन संरक्षणका लागि सामुदायिक वन, डिभिजन वन सचेत हुनुपर्ने जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीको भनाइ छ । उनी भन्छन्, “हामीसँग सहकार्य, छलफलै गरिँदैन, सबै काम आफ्नो तरिकाले गर्दा काम गर्न वनका साथीहरुसँग समस्या भएको छ ।”
हिमालमा जथाभावी जडीबुटीको दोहन भइरहेको र सरोकारवाला निकाय मौन रहेर सहकार्य हुन नसकेको उनको गुनासो छ । उनले भने, “बहुमुल्य खनिज पदार्थ, वन्यजन्तु चोरी निकासी भइरहेका छन्, सबै मिलेर साझा कार्यसूची बनाएर अगाडि बढौँ ।” गाउँगाउँमा सल्लीको रुखबाट जथाभावी खोटो सङ्कलन, सल्ली रुख कटान हुँदा दैनिक वन विनास भइरहेको छ ।
दुई दिनअघि मात्र सालको काठ अवैध तरिकाले लाँदै गरेको अवस्थामा प्रहरी र वन डिभिजन कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएको छ । आधा दर्जन बढी वन्यजन्तुको चोरी, निकासी गर्ने व्यक्ति पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । हालसम्म जिल्लामा २ हजार ९ सय ४३ घरधुरीले १४ सय ३० हेक्टर वन अतिक्रमण गरेको वन कार्यालयको तथ्यांकमा छ ।
डिभिजन वनले बेलाबेला अतिक्रमण हटाउने प्रयास गरे पनि केही राजनीतिक दलको अवरोधपछि उक्त कार्य रोकिएको छ । पछिल्लो समय जिल्ला वनले अतिक्रमण रोक्न ठोस पहल नगर्दा अतिक्रमण गर्ने बढेको गुनासो छ । कर्णाली प्रदेश नै अत्यन्तै प्रकृतिक सम्पदाको उच्च भण्डार रहेको क्षेत्र हो । -रासस