कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालु आवमा विभिन्न मितिमा गरी ९६ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।
पछिल्लोपटक कात्तिक ३० गते १२ महिला र ५ पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ । जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उनले बताए । कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको काफ्लेले जानकारी दिए ।
यसअघि भदौ ५ गते वीरगन्ज कारागारमा २४, कात्तिक ३ गते मकवानपुरको भीमफेदी कारागारमा ५४ र कास्कीमा एकजना स्थानान्तरण गरिएको थियो । कारागारको क्षमता पुरुषतर्फ २ सय ५५ र महिलाको संख्या २५ छ । अहिले कारागारमा ६३ महिला र ७ सय ९ पुरुष छन् ।
छिमेकी जिल्ला मकवानपुरमा महिला बन्दीगृह नहुँदा र नवलपुरमा अदालत स्थापना भए पनि कैदीबन्दी राख्न कारागार नहुँदा चितवनमा चाप बढेको उनले बताए । अहिले कारागारमा कैदीबन्दी राख्न समस्या पर्ने गरेको र सुताउन ठाउँ साँघुरो हुँदै गएको छ । -रासस