म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीय बासिन्दाले समयमै सेवा पाउन सकेका छैनन् ।
म्याग्दीका ६ स्थानीय तहमा ४५ वटा वडा छन् । १० वटा वडा रहेको बेनी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा दरबन्दी अनुसारका वडा-सचिव छैनन् । २९ वटा वडा सचिवविहीन छन् ।
७ वडा रहेको धवलागिरि गाउँपालिका र ५ वडा रहेको मंगला गाउँपालिकामा एक-एक सचिव छन् । ७ वडा भएको मालिका गाउँपालिकामा एकजना पनि सचिव छैनन् । ८-८ वडा भएको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा २-२ सचिव छन् ।
मालिका गाउँपालिकाका प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले सचिव नभएपछि प्राविधिक सहायक र स्वास्थ्यचौकीका अनमीलाई वडा पञ्जाधिकारीको समेत जिम्मेवारी दिएको बताए । 'वडा-सचिव सरुवा भएर गएपछि सेवाग्राहीको काम नरोकियोस् भनेर गाउँपालिकाले मलाई पञ्जाधिकारीको पनि जिम्मेवारी दिएको छ,' मालिका २ रुम स्वास्थ्यचौकीकी अनमी धनमाया पुनले भनिन्, 'बिरामी जाँच्ने स्वास्थ्यचौकीको नियमित काममा वडा-सचिवको जिम्मेवारी पनि थपिँदा गाह्रो भएको छ ।'
कर्मचारी समायोजनपछि वडा कार्यालय र गाउँपालिकामा कार्यरत अधिकांश कर्मचारी घरपायक ठाउँमा सरुवा भएर गए । 'भएका कर्मचारी सरुवा भएर गए, आउनेले यहाँ रोजेनन्,' मालिकाका उपाध्यक्ष खरमाया बिटालुले भनिन्, 'जनताको काम रोक्न त भएन भनेर सहयोगीले सघाउने र स्वास्थ्यकर्मीबाट काम चलाउने विधि अपनाउने बाध्यता आएको हो ।'
वडा-सचिव नहुँदा भनेको समयमा गुणस्तरीय सेवा पाउन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । गाउँमा सिंहदरबार आएको अनुभूति गर्न नपाएको गुनासो छ । कतिपय वडाध्यक्षलगायत जनप्रतिनिधिहरुले कर्मचारीको समेत काम गरी जनताको अप्ठ्यारो फुकाउने गरेका छन् ।
शैक्षिक योग्यता कम भएका जनप्रतिनिधि भएका वडामा झनै समस्या छ । सीमित कर्मचारीहरुलाई धेरै वडाको जिम्मेवारी दिँदा भार परेको धवलागिरि गाउँपालिकाको तीनवटा वडाको सचिवको जिम्मेवारी पाउनुभएका वेदनाथ सुवेदीले बताए । -रासस