मिठाईदेखि लिएर मसालासम्ममा मिलावटको समाचार सुनिएकै हो। तर तरकारीमा स्वाद बढाउने तथा घरेलु औषधिको रुपमा प्रयोग गरिने जिरासमेत नक्कली भेटिन थालेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले नक्कली जिरा बनाउने एक उद्योगमा छापा मारेपछि यो समाचार बाहिर आएको हो ।
नक्कली जिरा झाडु बनाउने घाँस, ढुंगाको दाना र सख्खर प्रयोग गरेर बनाइने गरिएको बताइन्छ । प्रहरीले उक्त उद्योगबाट २० हजार किलो नक्कली जिरा र ८ हजार किलो कच्चा पदार्थ बरामद गरेको छ ।
नक्कली जिरा बनाउने फ्याक्ट्रीका मास्टरमाइन्ड अधिकांश उत्तर प्रदेशको शाहजहाँपुरस्थित जलालाबादका हुन्। उनीहरुले नक्कली जिरा बनाउन त्यति मिहिनेत गर्नु नपर्ने र ३ चिज भए नक्कली जिरा तयार हुने बयान दिएका छन्।
झाडु बनाउन प्रयोग हुने घाँस ५ रुपियाँ प्रतिकिलो पर्छ। नक्कली जिरा बनाउनेहरुले झाडु बनाउन भन्दै ट्रक र ट्र्याक्टरमा फ्याक्ट्रीसम्म लैजान्छन्। ती घाँसका साना पातलाई सख्खरमा मिसाएर पानीमा राखिन्छ र सुकाइन्छ, जसबाट जिराजस्तै बन्छन्। त्यसपछि ढुंगाकोपाउडरमा मिसाइन्छ। त्यसपछि छानिन्छ र सुकाइन्छ । त्यसपछि सक्कली जिराजस्तै बन्छ ।
सक्कली जिरालाई बजारमा ३ सय रुपियाँ प्रतिकिलो पर्छ भने नक्कली जिरा २० रुपियाँ प्रतिकिलो हिसाबले बजारमा पठाइन्छ । नक्कली जिरा खाँदा रोग प्रतिरोधी क्षमतामा असर पर्नुका साथै स्टोन र छालाका रोग लाग्ने खतरा बढ्ने बताइन्छ ।