भगवान पनि चोरी हुन्छन् भन्दा अचम्म लाग्न सक्छ । तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छ । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयलाई संरक्षणमा समस्या भएको छ ।
डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका बहुमूल्य बुद्धमूर्ति अन्य सामग्री चोरी निकासी बढेपछि स्थानीय बासिन्दाले घरमै ल्याएर सुरक्षा गर्न लागिएको बताउँछन् ।
पूजाआजा गर्ने समयमा मात्र गुम्बामा लिएर आउने र सकिएपछि घरमा लिएर जाने गरिएको स्थानीय तम्सु गाल्वा लामाले बताए । आधाभन्दा बढी मूल्यवान सामग्री हराइसकेको ङ्वाङ लुम्डुप गुरुङको भनाइ छ । गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएकाले संरक्षणमा समस्या भएको छ । अघिल्लो वर्षमा मात्र शे–फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ बुद्ध मूर्ति चोरी गरेको भन्दै जनप्रतिनिधि नै पक्राउमा परेका थिए । अहिले उपल्लो डोल्पाका ६ प्रहरीचौकी चिसोका कारण सदरमुकाम दुनैमा विस्थापित भएपछि झन् सुरक्षा चुनौती थपिएको गुम्बाक गुरुङले बताए ।
उपल्लो डोल्पा बौद्ध गुम्बा धेरै भएको ठाउँका रुपमा मानिन्छ । बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अनुसार डोल्पामा १ सय ७ गुम्बा दर्ता छन् । सडक सञ्जालले नछोएको र अत्यधिक विकट भएकै कारण यहाँ चोरी, निकासी गर्नेलाई थप बल पुगेको छ ।
गर्मीयाममा मात्र यहाँका बासिन्दा उपल्लो डोल्पामा बस्छन् । चिसो मौसममा बेँसी झर्ने भएकाले मानिसको कम चहलपहल भएको मौका छोपी चोरी निकासी बढेको छ । डोल्पोबुद्ध, छार्का ताङसोङ, शे फोक्सुन्डोलगायत स्थानीय तह निकै दुगर्ममा पर्दछन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षलगायतको टोलीमाथि अदालतमा मुद्दा चलिरहेको छ । पुर्पक्षका लागि थुनामा रहेको रहेको उनले बताए ।
'अहिले उपल्लो डोल्पामा रहेका बुद्धमूर्ति, गुम्बा संरक्षणबारे स्थानीय तहका जनप्रतिनिधिसँग छलफल चरिरहेको छ, जिल्ला सुरक्षा समितिको बैठक बसेपछि त्यहाँको सुरक्षाका लागि छिट्टै निर्णयमा पुगिनेछ,' उनले भने, ‘अहिले उपल्लो डोल्पामा हिमपात कारण जान सक्ने अवस्था नभएका कारण त्यहाँको सुरक्षाका लागि विशेष योजना बनाएर काम गर्ने भन्नेमा हामी रहेको छौं ।'
चिनियाँ सीमा नाकानजिक भएकै कारण चोरी निकासी नियन्त्रणमा थप समस्या भएको छ । यहाँ रहेका बुद्धमूर्ति कति छन् र कसरी राखिएका छन् भन्ने अझै यकिन हुन सकेको छैन । कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा स्थापित मात्र नभएर धार्मिक रुपमा पनि उत्तिकै महत्त्व राख्ने उपल्लो डोल्पाका संरचना जोगाएर संरक्षण गर्नसके हरेक दृष्टिकोणले फाइदामा लिन सकिने छ । राज्यले यहाँ भएका बहुमूल्य वस्तुको चोरी, निकासी र पैठारी रोक्न विशेष योजना बनाएर युद्धस्तरमा काम नगरे सबै भएका वस्तु हराएर जाने निश्चित भएको सरोकारवाला बताउँछन् । -रासस