गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा मामाभान्जाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ४ का १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका ४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो ।
त्यस्तै हिजो (मंसिर १ गते आइतबार) पनि मेचीनगर ९ का ५७ वर्षीय बुद्धिमाया तामाङको हात्ती धपाउन प्रयोग गरिएको करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो । गाई वस्तु धपाउने क्रममा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
जंगली हात्तीबाट जोगिन बिच्छ्याइएको विद्युतीय तारमा परी झापामा यसअघि धेरैले ज्यान गुमाइसकेका छन् । मेचीनगर ९, माथिल्लो मागुरमाडीका ६० वर्षीय गंगा थपलियाको पनि गत साउनमा विद्युतीय धरापमा परी मृत्यु भयो ।
त्यस्तै अर्जुनधारा ४, दहिझोडाका २५ वर्षीया अनु लिम्बू, मेचीनगर ३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराज, भद्रपुर १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूसहित धेरैले विद्युतीय धरापमा परी ज्यान गुमाए ।
गत असारमा रणकाली सामुदायिक वन हल्दिबारी ३ मा हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परेर ३ हात्ती मरेका थिए । यसअघि पनि विद्युतीय तारमा परी झापा र इलामको सिमानामा पर्ने इरौँटार ८ मा एउटा पोथी हात्ती मरेको थियो ।
झापाका विभिन्न क्षेत्रमा पछिल्लो समय हात्ती नियन्त्रणका लागि भन्दै जथाभावी विद्युतीय तारको प्रयोग गरिएको छ । तर त्यही तारमा परेर एकपछि अर्को गर्दै मानिसको मृत्यु हुन थालेपछि चिन्ता थपिएको डिभिजनल वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे बताउँछन् । २०६७ सालयता विद्युतीय तारमा परी ४० जनाले ज्यान गुमाइसकेका छन् भने छावासहित ११ हात्ती मरेका छन् ।
हात्ती नियन्त्रणका लागि भन्दै डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल विद्युत् प्राधिकरणको अनुमति नलिई हात्ती प्रभावित क्षेत्रका वासिन्दाले विद्युतीय तारको जथाभावी प्रयोग गरेका छन् । -रासस