अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका ३, फिस्लिङको बरन्डाबाट हामफालेर भाग्ने क्रममा आइतबार सेनाका एक जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका ५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको बर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत थिए । कार्यालयका अनुसार चौकी भवनको बरन्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी सख्त घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आइतबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुई प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान साढे ७ बजे बरन्डाबाट हामफालेका थिए ।
घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो । इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुर्व्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ । -रासस