नेपाली पत्रकारितामा खोजमूलक, सहासिक र अनुसन्धानात्मक समाचार सम्प्रेषण गरेबापत ‘हाम्रा कुरा डट कम’ अनलाइन सेवाका सम्पादक अजयबाबु सिवाकोटीलाई सन् २०१९ को ‘इन्जा अवार्ड’ प्रदान गरिएको छ ।
नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल एशिया च्याप्टरद्वारा आज आयोजित कार्यक्रममा सम्पादक सिवाकोटीलाई एक हजार अमेरिकी डलरसहितको उक्त अवार्ड प्रदान गरियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दूरव्यवहार गरेकोसम्बन्धी समाचार सम्पादक सिवाकोटीले पहिलोपटक सम्प्रेषण गरेका थिए।
सो अवसरमा मानवअधिकार क्षेत्रका अगुवा कृष्ण पहाडीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमले विशिष्ट योगदान पुर्याएकाले समाजका विकृति तथा कमीकमजोरीलाई उजागर गर्ने सम्बन्धमा हीनताबोध गर्नुपर्ने कुनै कारण नभएको बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकारिता भनेको व्यावसायिक र लेख्यकला मात्र नभएर सत्यको उजागर गर्ने माध्यम भएकाले समाजमा माथिल्लो तहमा बस्नेको कमीकमजोरीलाई जनतासामु पुर्याउने काममा सम्पादक सिवाकोटीबाट सहासिक कार्य भएको भनि प्रशंसा गरे ।
पुरस्कृत व्यक्तित्व सम्पादक सिवाकोटीले मुलुकमा स्वतन्त्र पत्रकारिता कसरी गर्न सकिन्छ भन्ने प्रश्न कायमै रहेको धारणा व्यक्त गरे । उनले आफूले प्राप्त गरेको पुरस्कारको रकममध्ये २५ हजार सुर्खेतका पत्रकार स्व डिलप्रसाद शर्माको परिवारलाई उपलब्ध गराउन जानकारी दिए । शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा बिहीबार काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको थियो ।