कुवेती आरोही टोलीले आमादब्लम हिमाल (६८१२ मिटर) मा गैरकानुनी रुपमा विशाल झण्डा राखेपछि नेपाल सरकारले अनुसन्धान थालेको छ।३ हजार मिटर तल रहेको खुम्जुङ र १२ किलोमिटर टाढाबाट समेत देख्न सकिने उक्त झण्डा सुरुमा इटालीको ठानिएको थियो। तर रेकर्ड राख्ने उद्देश्यले उक्त झण्डा कुवेती आरोहीले राखेको खुलासा भएको छ । पर्यटन विभागले उक्त झण्डा लैजान स्वीकृति लिइएको या नलिइएको बारेमा अनुसन्धान गरिने जनाएको छ। उक्त टोलीले गैरकानुनी रुपमा झण्डा लगेको भेटिए कारबाही गरिने विभागले जनाएको छ।
कुवेती टोलीले उक्त झण्डा लुक्ला, फाक्दिन हुँदैं आमादब्लममा लैजान सफल भएको थियो। फिल्ममेकर तथा पर्वतारोही एलिया साइक्लीले आफ्नो इन्स्टाग्राममा लेखेका छन््– विश्वकै ठूलो झण्डा समुद्री सतहबाट ६८१२ मिटर अग्लो स्थानमा सफलतापूर्वक राखिएको छ।’ १ हजार मिटर लम्बाई र ३० मिटर चौडाको उक्त झण्डा १५० किलो तौलको रहेको बताइएको छ। त्यसलाई २५–२५ किलोका दरले अलग अलग पारेर शिखरमा लगिएको थियो।
६ महिना अवधिमा विश्वका १४ वटा सर्वोच्च शिखर आरोहण गरेर विश्व रेकर्ड कायम गरेका निर्मल पुर्जासमेत कुवेती झण्डा अभियानमा संलग्न भएको बताइएको छ।
आरोहीहरुले आमादब्लमबाट उक्त झण्डा तत्काल हटाउनुपर्ने र कुवेती टोलीका आयोजक एजेन्सीलाई कारबाही गर्नुपर्ने तथा उक्त टोलीलाई आरोहणमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन्।
अर्का आरोही अलान अर्नेटले आफ्नो ब्लगमा आमादब्लमलाई विरुप बनाउनु गलत भएको र उक्त झण्डा तत्काल हटाउनुपर्ने बताएका छन्।