तनहुँको भानु नगरपालिका १, जामुनेगैह्रास्थित जंगलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।
चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । 'खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ, नियन्त्रणमा आएको चितुवालाई कहाँ लैजाने भन्ने बारेमा छलफल भइरहेको छ,' उनले भने ।
उक्त नगरपालिकाका वडा १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएका छन् । गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो । काठको खोरमा परेर चितुवा नियन्त्रणमा आए पनि बालबालिकामाथि चितुवाको आक्रमण रोकिएको छैन ।
डिभिजन वन प्रमुख बरालका अनुसार चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि ९ खोर निर्माण गरी जंगलमा राखिएका छन् । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका छ विज्ञ टोली पनि परिचालित भएका छन् । कोषका विज्ञ नरेश सुवेदीले भानुका जंगलमा भएका चितुवा नियन्त्रणका लागि एसियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ ।
पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवा आक्रमणको बढी समस्या रहेको छ । सुवेदीका अनुसार बूढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जंगलमा आहारा अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ । -रासस