बम विस्फोटमा परी घाइते भएका २३ जनालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा मोहम्मद आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको बेला प्रत्यक्षदर्शीले एकपछि अर्को गरी बयान फेर्ना थालेका छन्।
२०६४ को संविधानसभा चुनाबको अघिल्लो दिनको विस्फोटको घटनाका प्रत्यक्षदर्शीमध्येका एकसमेत रहेका घाइते गौरीशंकर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। जिल्ला अदालत छिर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।
न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला उनीविरुद्ध बयान दिने भनिएका चमारले बम विस्फोटबारे आफूलाई कुनै जानकारी नभएको बताए।
चमार राजपुरमा भएको बम विस्फोटमा घाइते भएको सरकारी साक्षी हुन्। उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन्।
स्मरणीय छ, यसअघि विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी थिइन्। २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम प्रहरी हिरासतमा छन्।