प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका १, कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका ७ का १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थाना लौकाहा खुटौना फूलपरासका १८ वर्षीय मोहम्मद रियाजलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले बीआर ३२ यू ४७९९ नम्बरको मोटरसाइकल जाँच गर्दा तीनै जनाको साथबाट नाइट्रोभेट १४ पत्ता, स्पास्मो ५ पत्ता र गाँजा १० ग्राम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
त्यस्तै, बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक युवकलाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा जिल्ला अदालत सिरहाबाट ११ महिना २० दिनको कैद सजाय पाएर फरार सिरहा भगवानपुर गाउँपालिका २, नहराका ३५ वर्षीय रामविलास साहलाई प्रहरीले पक्राउ गरेको हो । -रासस