आमरण अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
अनशन बसेको ७ दिन बित्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । यस्तै सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो साढे १ देखि साढे २ बजेसम्म एक घण्टा पसलहरु पनि बन्द गरिएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । उनका अनुसार संघ र नागरिक समाजले दबाबस्वरुप आन्दोलन थालिएको हो । डा. केसीको समर्थनमा जिल्लामा दैनिकजसो विभिन्न कार्यक्रम गरिँदै आएका छन् ।
स्वास्थ्य जटिल बनेसँगै रिफरको तयारी
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि चिकित्सकहरुले सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाएका छन् । निजी घरमा अनशन बसेका केसीलाई अस्पतालमा सारिए पनि उनले औषधि सेवन गर्न नमानेको र स्वास्थ्य अवस्था झन् नाजुक बन्दै गएकाले सुविधायुक्त अस्पतालमा लैजान सल्लाह दिइएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिए ।
‘अहिले ब्लड प्रेसर र मुटुको चाल बढेको छ, उहाँको थप केही जाँच गर्नुपर्ने देखिन्छ जुन यो अस्पतालमा सम्भव छैन,’ उनले भने, ‘अन्यत्र पठाउन सल्लाह दिएका छौँ तर उहाँले मानिरहनु भएको छैन ।' डडेल्धुरा अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र एबिजी सेवा नरहेकोले डा. केसीको उपचार डडेलधुरामा सम्भव नरहेको अस्पतालले जनाएको छ ।