त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दुईवटा विमान एकापसमा ठोक्किएका छन् ।
बिमानस्थल कार्यालय प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार पार्किङ गर्ने क्रममा श्री एयरको सिआरजे ७०० जहाजले पार्किङ गरिराखेकाे यती एयरको एटिआर जहाजकाे पुच्छरमा ठक्कर दिएको हाे।
दुवै जहाजमा सामान्य क्षति पुगेको छ । ठोक्किएको जहाजको निरीक्षण गरी आवश्यक मर्मत गरिसकेको बताइएको छ । साे घटनाले विमानस्थलमा आवागमनमा कुनै समस्या नआएको प्रवक्ता तिवारीले बताए।
साँघुरो पार्किङ, त्यसमाथि एयरलाइन्सको जथाभावी पार्किङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त बनेको छ । प्रतिस्पर्धी एयरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ ।
विमानस्थलको आन्तरिकतर्फ पार्किङमा १८ देखि २० वटा जहाजको क्षमता रहे पनि ३० वटाभन्दा बढी जहाज पार्किङ गरिँदै आइएको छ । विमानस्थलको चाप न्यूनीकरणका लागि क्षेत्रीय विमानस्थलमा जहाज रहने विमानस्थलले निर्णय गरे पनि त्यो प्रभावकारी लागू भएको छैन । आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति नौ बजेसम्म उडान हुने गरेको छ । आन्तरिकमा अहिले १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।