प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो ।
प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानुनीरूपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताए । 'विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै हो,' उनले भने, 'अभिभावक र बालबालिका तयार भए पनि पुरोहितले कानूनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाहै हुन सक्दैन ।'
कानुनले बालविवाहलाई अपराधका रुपमा परिभाषित गरेको छ । मुलुकी फौजदारी संहिता, २०७४ मा बालविवाह गर्ने/गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले पुरोहितहरुलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्ला–जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालू आव २०७६/७७ मा सल्यानमा बालविवाहका ३ मुद्दा दर्ता भएको जनाएको छ । अघिल्लो आवमा सुर्खेत र दैलेखमा सात/सात, सल्यानमा तीन र जुम्लामा दुई गरी १९ मुद्दा दर्ता भएका थिए । त्यस्तै, प्रहरीले चालू आवको हालसम्मको अवधिमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष प्रहरीले ५९ जोडीको उद्धार गरेको थियो ।
प्रदेश प्रहरी प्रमुख जोशीले झन्डै ५ सय हिन्दू, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर प्रशिक्षण दिएको जानकारी दिए । प्रशिक्षणमा सुर्खेतमा सय, दैलेखमा ३९, कालीकोटका ४१, जुम्लाका ५३, मुगुका २५, हुम्लाका २३, डोल्पाका ५१, सल्यानका ९२, जाजरकोटका ३२ र रुकुमपश्चिमका २३ पुरोहित सहभागी थिए ।
सुर्खेतका अगुवा पुरोहित तिलकप्रसाद रिजालले बालविवाह, जातीय विभेदलगायतका कुरीतिको पक्षमा आफूहरु नरहेको बताउँदै कानुनी व्यवस्थाको पालना गर्न/गराउन आफू सधैँ प्रतिबद्ध रहेको बताए । -रासस