पछिल्लो समय बाँके र बर्दियामा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।
बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताए ।
निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।
बाँके र बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका हुन् । अधिकांशले अनाहकमा ज्यान गुमाइरहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटेबाघको आक्रमणमा मंगलबार एक माउतेको मृत्य भएको छ । निकुञ्जभित्र गैँडा मचाननजिक पाटेबाघको आक्रमणबाट माउतेको मृत्यु भएको छ । २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रूपमा कार्यरत बर्दिया ठाकुरबाबा नगरपालिका ७, मोहनपुरका ४५ वर्षीय निकुञ्जका माहुते मंगरे थारूको मृत्यु भएको हो । हात्तीका लागि घाँस काट्ने क्रममा पाटेबाघले थारूलाई झम्टेको निकुञ्जले जनाएको छ ।
२०७६ भदौ ५ गते बर्दियाको गेरुवा गाउँपालिका ४ मा पाटेबाघले आक्रमण गर्दा सोही ठाउँका ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो । यो घटना सेलाउन नपाउँदै बर्दिया ठाकुरबाबा नगरपालिका १, भुरीगाउँ खानेपानी ट्यांकीनजिक २०७६ भदौ ८ गते बिहान पाटेबाघले आक्रमण गर्दा सोही स्थान बस्ने स्थानीय ७० वर्षीय पहरिया थारूको मृत्यु भएको थियो ।
त्यस्तै गत माघ २१ गते बर्दियाको बढैयाताल गाउँपालिका २ मा पाटेबाघले आक्रमण गर्दा ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । सोही घटनामा बाघकै आक्रमणमा परी अर्का स्थानीय ३० वर्षीय विजय बुढा सामान्य घाइते भएका थिए ।
बाघ आक्रमणको घटनाबाट बाँके पनि अछुतो छैन । बाँकेको खजुरा गाउँपालिका ३, धवलागिरिमा २०७६ जेठ ३ गते साँझ तीन जनालाई पाटेबाघले आक्रमण गरL घाइते बनायो । घाइतेमध्ये ५० वर्षीय दीपबहादुर श्रीषको अवस्था जटिल भएपछि नेपालगन्ज मेडिकल कलेजमा उपचारपछि अहिले घर फर्किएका छन् ।
मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेका घटना एकपछि अर्को गर्दै दोहोरिन थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरी बताउँछन् । ठाकुरबाबा नगरपालिका बर्दियाका लक्ष्मण थारूले भने, 'बाघ र अन्य वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौती थपिएको छ ।' नेपालको कानुनअनुसार वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ ।
सरकारी तथ्यांकअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् । देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीय बासिन्दाको सक्रियताले बाघको संख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुले गर्ने आक्रमण न्यूनीकरणका लागि सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने स्थानीयको भनाइ छ । -रासस