सांसद मोहम्मद अफताब आलमविरुद्ध दर्जन बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसुर अपराध गरेको भन्दै अभियोगपत्र दर्ता गराएको हो ।
सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दाबीसहित यी तीनै कसुरमा सजाय माग दाबी गरेको छ । सरकारी वकिल कार्यालयले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, सेख भदई, मोहम्मद मोविन आलम, सेख सेराज, बद्री सहनी, सेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने सेख मलकार र गौरीशंहर साहसमेत अभियोगपत्र दायर गरेको छ । आलमबाहेक अरु सबै फरार छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी म्याद जारी गर्न पनि सरकारी वकिल कार्यालयले माग गरेको छ ।