चिसो बढ्न थालेपछि डोल्पाका बासिन्दा बेँसी झर्न थालेका छन् । दसैं, तिहारजस्ता ठूला पर्व सकिएलगत्तै यी जिल्लाका बासिन्दा तातोको खोजीमा जिल्ला छोड्न थालेका हुन् ।
कर्णालीका जिल्लाहरुमा दिन प्रतिदिन चिसो बढ्दै जाँदा हिमपात हुने सम्भावना पनि रहेको छ । दैनिकजसो चिसो बढ्न थालेपछि आजभोलिको घाम प्यारो लाग्न थालेको मुड्केचुला गाउँपालिका ७ का नवराज शाहीले बताए । तल्लो डोल्पाभन्दा माथिल्लो डोल्पाका अधिकांश बासिन्दा बेँसी झरिरहेको काइके गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र रोकायले बताए ।
मंसिर, पुस र माघको ३ महिनाको जाडो छल्न जाजरकोट, नेपालगन्ज, काठमाडौं, सुर्खेतलगायत जिल्लामा यहाँका बासिन्दा जाने गर्छन् । अहिले डोल्पाको जुफाल विमानस्थलमा बेँसी झर्नेको भीड देख्न सकिन्छ । प्रत्येक वर्ष यही समयमा जाडो छल्न बेँसी झर्ने सर्वसाधारणको भीड लाग्ने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ ।
कर्णालीवासीको जाडो छल्न झर्ने सहरहरुमध्ये काठमाडौं प्रमुख रोजाइमा पर्ने गर्छ । यतिखेर जाडो मौसम सुरु भएसँगै कामकाजबाट समेत फुर्सद पाइने भएकाले पनि व्यक्तिगत कामकाजदेखि लिएर राजनीतिक भेटघाट र सामान किनमेलका लागि पनि काठमाडौं धेरै जाने गरेका हुन् । जाडो छल्न तराई झरेका डोल्पावासी फागुन लागेपछि मात्रै घर फर्केर यार्सागुम्बा संकलनतर्फ लाग्छन् ।
मंसिर, पुस र माघमा चिसोका लागि फुर्सद निकालेर बेंसी झर्ने उपल्लो डोल्पाका बासिन्दा कात्तिकभरि हिँउदे बालीका रुपमा रोपिने गहुँ, जौ, उवालगायत अन्नबाली लगाइसक्छन् । केहीले हिँउदमा भारी हिमपात भई चिसोले घरबाहिरसमेत निस्कन नसकिने भएकाले आगो ताप्न कात्तिकमा गुइँठा, दाउराको जोहो धेरै हुने गर्छ । चिसोमा घट्ट तथा मिलहरुमा जानसमेत समस्या हुने भएकाले खाद्यान्न समस्या नहोस् भनेर कात्तिकमै धेरै परिमाणमा खाद्यान्न कुटानी-पिसानी किनमेल गर्छन् ।
सरकारी कार्यालय फुर्सदमा
जाडो सयममा धेरैजसो सर्वसाधारण जाडो छल्न तराई झर्ने भएकाले कार्यालयहरुमा कामकाजको चाप कम हुने र कर्मचारी पनि फुर्सद हुने गरेको छ । उपल्लो डोल्पामा रहेका ६ प्रहरी चौकीसमेत सदरमुकाम दुनैमा आइसकेको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताए । उपल्लो डोल्पाका ३ स्थानीय तहको कामसमेत सदरमुकाम दुनैमा हुने गर्छ । जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरु कर्मचारीविहीन हुने गर्छन् ।
कतिपय कार्यालय सहयोगीका भरमा चल्छन् । कर्मचारीहरु जाडो छल्न तथा घुमघामका लागि तराई झर्ने भएकाले यस समयमा कार्यालयहरु कर्मचारीविहीन हुने गरेका हुन् । कर्मचारी मात्रै नभई जनप्रतिनिधिहरुसमेत जाडो छल्ने बहानामा घुमघामका लागि तराईका जिल्लामा जाने गर्छन् ।
उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा, तल्लो क्षेत्रका तराईमा आएर स्थायी बसोबास गर्दा भूगोल जिल्लामै दुई क्षेत्रमा विभाजित छ । जिल्लाका उच्च भेगमा बसोबास गर्ने सर्वसाधारण तल्लो क्षेत्रमा भन्दा धेरै चिसो हुने भएकाले ६ महिनाको अस्थायी बसोबासका लागि पशु चौपायसहित जाडो छल्न बेँसी झर्ने गर्छन् ।
यतिखेर आर्थिक रुपमा मजबुद भएकाहरु भने काठमाडौं, पोखरा, नेपालगन्जलगायत सहर जाने र आर्थिक अवस्था कमजोर सर्वसाधारण चिसो कम हुने ठाउँ खोज्दै तल्लो क्षेत्रमा झर्छन् । यतिखेर उपल्लो क्षेत्रका मान्छेहरुले फुर्सदको समयको उपयोग गर्दै राडी, पाखी, झोला बनाएर बेच्ने र जिम्बुहरु अन्नबालीहरुसँग साटासाट गरेर आयआर्जन गर्ने गर्छन् ।
डोल्पामा दुई प्रकारको शैक्षिक सत्र लागू हुँदै आएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङसोङ गाउँपालिकामा पर्ने सम्पूर्ण विद्यालय चिसो समयमा बिदा हुन्छन् । उपल्लो डोल्पाका विद्यालय वैशाखमा मात्रै खुल्ने गर्छन् । तल्लो डोल्पाका सम्पूर्ण विद्यालय पुस पहिलो साताभित्र बन्द भएर फागुन पहिलो साता खुल्नेछन् । -रासस