धनुषामा यात्रुवाहक बसको ठक्करबाट एक पूर्वसांसदको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका १, धुमासनका पूर्वसांसद रामलखन महतोको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकलमा महेन्द्रनगरबाट घर जाने क्रममा जनकपुर–ढल्केवर खण्डअन्तर्गत पर्ने नक्साझिजमा बसले ठक्कर दिँदा ६५ वर्षीय महतोको ज्यान गएको हो ।
बसको ठक्करबाट सख्त घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । महतो २०५१ सालको मध्यावधि चुनावमा तत्कालीन नेकपा एमालेबाट धनुषा क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।