गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ एक साताका लागि अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसको निमन्त्रणामा मुख्यमन्त्री गुरुङसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, मुख्य न्याधिवक्ता डाक्टर राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे शुक्रबार प्रस्थान गरेका हुन् ।
भ्रमणको क्रममा संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय स्थापित गर्न सघाउने विभिन्न राज्यका तालिममा भ्रमण टोलीले भाग लिनेछन् । मुख्यमन्त्री गुरुङका अनुसार प्रहरी र न्याय समितिले तहगत रुपमा गरेका समन्वयको विषयमा भ्रमण टोलीले विस्तृत अध्ययन गर्नेछ ।
‘अमेरिकी राज्यहरुमा संघ र राज्यका प्रहरीहरुले कसरी समन्वय गरेर काम गरेका छन्, यसमा भ्रमण केन्द्रित हुनेछ,’ मुख्यमन्त्री गुरुङले भने, ‘महान्याधिवक्ता, मुख्यन्यायधिवक्ता र स्थानीय न्याय समितिले कसरी समन्वय गरेर काम गरेका छन् यसमा पनि अमेरिकाबाट सिक्न चाहन्छौं ।’ उनका अनुसार संघीयतामा होरिजेन्टल र भर्टिकल चेन अफ कमान्ड कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल गर्न विभन्न राज्यका प्रतिनिधिसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।
महान्यायधिवक्ता र मुख्यन्यायधिवक्ताको कार्यालयले गर्ने स्थानीय तहमा हुने शान्ति समितिले कसरी सहयोग र सहकार्य गर्न सक्छ भन्ने विषयमा समेत भ्रमणको क्रममा छलफल हुनेछ । प्रहरीले नागरिकसँग गर्ने व्यवहार र स्थानीय तहमा मेलमिलापको कार्यक्रम प्रभावकारी बनाउने विषयमा अमेरिकाको स्थानीय तहको प्रतिनिधिसँग छलफल हुनेछ ।