चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतीले ४ गैंडा मरेका छन् । भदौ ११ देखि कात्तिक ९ सम्म विभिन्न स्थानमा ४ गैंडा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लोपटक कात्तिक ९ गते भरतपुर महानगरपालिका २५ को राप्तीदून मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो । बूढो भएर हिँडडुल गर्न र चर्न नसकेपछि निगरानीमा राखिएको गैंडा मरेको घिमिरेले जानकारी दिए ।
यसअघि असोज २९ गते भरतपुर २८ को बरदाहा सामुदायिक वनमा एउटा गैंडाको हाडखोर भेटिएको थियो । त्यसअघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैंडा मृत भेटिएको थियो । ती सबै गैंडा कालगतिले मरेका हुन् ।
गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतिले ४१ गैंडा मरेका थिए । चोरी सिकारीवाट गैंडा मर्न नपाए पनि पछिल्ला वर्ष कालगतिबाट धेरै मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ । -रासस