चितवनको इच्छाकामना गाउँपालिका ६, तुन्तेसका बलबहादुर घर्तीलाई बर्खा लागेपछि चिन्ताले सताउँथ्यो । बिरामी पर्दा स्वास्थ्य चौकी, किनमेलका लागि बजार र आवश्यक सेवा लिन वडा कार्यालय कसरी जाने भन्ने चिन्ता हुन्थ्यो । बर्खामा पानी परेपछि ठाड खोला क्षणभरमै उर्लिन्छ, खोला तर्न सकिँदैन । बजार, वडा कार्यालय र स्वास्थ्यचौकी जानका लागि छोटो दूरीको बाटो नै ठाड खोला पार गरेर जानु हो । अब भने उनलाई त्यो चिन्ता हटेको छ । किनकी बाटो अवरोध गर्ने ठाड खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
उनले भने, “जब बर्खा लागेपछि चिन्ताले सताउथ्यो, किनमेलका लागि बजार जान, वडा कार्यालय र बिरामी हुँदा स्वास्थ्य संस्थासम्म जाने बाटो ठाड खोलाले छेकिदिन्थ्यो, अब भने यी समस्याबाट मुक्ति मिलेको छ ।” अर्का स्थानीय कुमार घर्तीले पनि पुल निर्माणपछि खुसीको सीमै नरहेको बताए । पुल निर्माणका लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।
पुल निर्माणपछि वीरबहादुर र कुमार जस्तै २६५ घरका १ हजार ३ सय २५ प्रत्यक्ष लाभान्वित भएका छन् । पुल निर्माण समिति अध्यक्ष वीरबहादुर गुरुङका अनुसार २६५ घरधुरीका बासिन्दाबाहेक आसपासका वडा २ का हुस्ती, काउले र वडा ७ का दाहाखानीका बासिन्दा पनि पुलबाट लाभान्वित हुनेछन् ।
प्राविधिक कार्यालय चितवनबाट १७ लाख ६९ हजार ३० रुपैयाँ ६४ पैसा, गाउँपालिकाबाट १ लाख ९५ हजार हजार, स्थानीय श्रमदानबाट ६४ हजार ९ सय ७ रुपैयाँ, टिबिएसयु संस्थाबाट वस्तुगत सहयोग र सहभागी नेपाल संस्थाको सामाजिक तथा प्राविधिक सहयोग गरी कूल ३३ लाख २५ हजार ८ सय ८९ रुपैयाँमा पुल निर्माण भएको निर्माण समिति अध्यक्ष गुरुङले जानकारी दिए । पुल ६६ मिटर लामो छ ।
वडाध्यक्ष भूपेन्द्र चेपाङका अनुसार यसअघि यहाँका बासिन्दाले बर्खायाममा किनमेलका लागि बजार, बिरामी हुँदा स्वास्थ्य संस्था र वडा कार्यालयसम्म जान समस्या भोग्दै आएका थिए । गाउँपालिकाको विकट स्थानमा रहेको यहाँ चेपाङ, घर्ती र गुरुङ समुदायको बसोबास रहेका छन् । पुल निर्माण सम्पन्नपछि निर्माण समिति र सहयोगी संस्थाले वडाध्यक्ष भूपेन्द्र चेपाङ र स्थानीयको सहभागितामा सार्वजनिक सुनवाईसमेत सम्पन्न गरेको स्थानीय समाजसेवी तथा पुल निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका यामबहादुर गुरुङले जानकारी दिए । -रासस