चारैतिर खचाखच गाडी, वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे तुलसीपुर बसपार्क अहिले भने चिटिक्ट हुँदै गएको छ ।
यात्रुलाई सहज तथा सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क हुँदै गएको हो । तुलसीपुर उपमहानगरपालिकाले नगर विकास कोष नयाँ बानेश्वरबाट ऋण तथा अनुदान रकम लिई त्यहाँ आधुनिक बसपार्क निर्माण गरेको हो ।
आधुनिक बसपार्क निर्माण भएपछि यहाँका नागरिक पनि सुविधा सम्पन्न बसपार्कबाट अब सेवा लिन पाइने भयो भन्दै खुशी भएका छन् । आधुनिक बसपार्क निर्माणको सम्झौता बमोजिमको सम्पूर्ण काम पूरा भएको र छिट्टै भवनको उद्घाटन गरिने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
२०७४ वैशाखमा आधुनिक बसपार्क निर्माणका लागि बोलपत्र प्रक्रिया बढाएको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिए । भ्याटबाहेक ९ करोड ९ लाख रुपैयाँमा सम्झौताअनुसारको निर्माणको पहिलो चरणको काम पूरा भएको योगीले बताए । बसपार्क निर्माणको जिम्मेवारी शिव-शक्ति कन्स्ट्रक्सन कम्पनी काठमाडौँले पाएको थियो ।
निर्माणको जिम्मेवारी पाए पनि बसपार्क बनाउने जग्गाको केही भागमा अटोभिलेज हुँदा केही समय जग्गा विवादले काम रोकिएको थियो । जनप्रतिनिधि, यहाँका नागरिक समाज, दलका नेता, उद्योगी, स्थानीय बासिन्दाबीच समन्वय गरी छलफल भई समस्या समाधान भएसँगै निर्माणको कामले तीव्रता पाएको थियो । अहिले निर्माणको काम पूरा भएको इन्जिनियर योगीले जानकारी दिए ।
अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर ६, रजौराको कमलपोखरी सामुदायिक वनको जग्गामा सारिएको छ । आधुनिक बसपार्क साढे पाँच बिघामा फैलिएको छ । त्यहाँ ३ सय बढी सवारीसाधन व्यवस्थित रुपमा राखिने क्षमता छ । त्यहाँ यात्रु प्रतीक्षालय, टिकट काउन्टर भवन, शौचालय र पक्की सडक निर्माण गरिएको पनि योगीले जानकारी दिए । उनका अनुसार बसपार्कभित्र ५२ व्यावसायिक टहराका प्रशासनिक भवन, रेस्टुरेन्टलगायतका संरचना निर्माण गरिएको छ । बसपार्कमा स्तनपान कक्ष निर्माण गरिएको छ ।
बसपार्क निर्माणले आफूलाई निकै उत्साहित बनाएको तुलसीपुरका व्यवसायी मीनराज भण्डारीले बताए । ‘बसपार्क छेउमा आफूले लामो समयदेखि किराना पसल गर्दै आएको र धूलो, अव्यवस्थित पार्किङका कारण सास्ती खेप्नुपरेको थियो, अब भने सजह हुने भयो,’ भण्डारीले भने । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका सचिव प्रकाश भट्टले बसपार्क निर्माणले अब जथाभावी गाडी राख्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । -रासस