बसपार्कमा जथाभावी यात्रु तानातान गर्ने गुनासो बढेपछि अब त्यस्तो गरे जरिवाना तिर्नुपर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरे ५ सय रुपैयाँ जरिवाना तिनुपर्ने व्यवस्था गरिएको हो ।
नवनिर्मित बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्न वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधि निर्माण गरेको हो । नगरपालिकाको स्वामित्वमा रहेको सिटी बसपार्कलाई व्यवस्थापन गर्नुका साथै नगरको बस पार्किङ व्यवस्थापन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ७ बमोजिम कार्यविधि निर्माण गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । कार्यविधिअनुसार बसपार्कभित्र सवारीसाधनको साथै टिकट काउण्टरको तथा पसलको व्यवस्थापनका लागि विभिन्न शुल्कको व्यवस्था गरिएको छ ।
त्यसैगरी तोकिएको स्थानमा पार्किङ, नगर्नुका साथै बसपार्कभित्र ट्राफिक नियमपालना नगरे हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । साथै गल्ती दोहोरिए दोब्बर जरिवाना बुझाउनुपर्नेछ । कार्यविधिमा बसपार्कमा प्रवेश गर्ने लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ ।
लामो दूरीमा चल्ने ठूला सवारीसाधनका लागि सय, लामो दूरीमा चल्ने साना सवारीसाधन र छोटो दूरीमा चल्ने ठूला सवारीसाधनको ५० र छोटो दूरीमा चल्ने साना सवारीसाधन ३० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । बसपार्कमा रात बिताउनुपर्ने बसको २ सय र माइक्रो बसको १ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
बसपार्कको सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्नुका साथै बसपार्कलाई सही ढंगबाट व्यवस्थापन गरी नगरको सौन्दर्य वृद्धिमा सहयोग गर्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको हो । बसपार्क व्यवस्थापन तथा अनुगमन गर्न नगरप्रमुखको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ ।
कार्यविधिअनुसार बसबाहेक अन्य सवारीसाधनलाई बसपार्कभित्र प्रवेशमा निषेध गर्नुको साथै नगरपालिकाबाट स्वीकृत रकमभन्दा बढी भाडा लिन नपाइने भएको छ । ६ महिनाअघि वीरेन्द्रनगर नगरपालिकामा निर्माण सम्पन्न भइसकेको सिटी बसपार्क लामो समयदेखि सञ्चालनमा आएको थिएन । बसपार्क सञ्चालनमा नआउँदा यात्रु र यातायात व्यवसायीले सास्ती भोग्दै आएका थिए ।
बसपार्क निर्माणको काम सकिए पनि प्राविधिक कारणले हस्तान्तरण गर्न ढिलाइ भएको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए । पहिलोपटक ६ महिना म्याद थप गरेको कम्पनीले दोस्रोपटक १ वर्षको म्याद थपेको थियो । नगर विकास कोषबाट ६ करोड ५९ लाख रुपैयाँमा ऋण लिएर नगरपालिकाले बसपार्क निर्माण गरेको हो । -रासस