वीरेन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका २ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) रवि रावलले जानकारी दिए ।
पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट प्रहरीले १० दिनको लागि म्याद थप गरिसकेको छ ।
ती बालिकाले प्रहरीलाई दिएको जाहेरीमा आफूलाई उनीहरुले पालैपालो असोज १५, १६ र २३ गते एकपटक ४ जनाले र अर्कोपटक दुई जनाले करणी गरेको उल्लेख छ । जाहेरीलगत्तै आवश्यक प्रमाण संकलन र आरोपीलाई पक्राउ गरी अनुसन्धान थालिएको रावलले बताए । -रासस