दुःख धेरै गर्नुपर्ने, उत्पादन भने कम हुने । यही कारण चन्दननाथ–१० बारकोटेबाडाका धनबहादुर खत्रीले तीन वर्षअघि मार्सी धान लगाउन छाडेका थिए । अहिले भने उनको मन मार्सीतिर फर्किएको छ । व्यापारीहरू मार्सी चामल खोज्दै गाउँमै पुग्न थालेपछि पुनः रोप्न सुरु गरेको उनले बताए ।
परिश्रमका तुलनामा कम फाइदा हुने भएकाले लगाउन छाडिसकेका जुम्लाका खत्रीजस्ता थुप्रै किसान अहिले पुनः मार्सी धानमा आकर्षित छन् । पछिल्लो समय मार्सी चामल लोकप्रिय ‘ब्रान्ड’ का रूपमा स्थापित हुनु र बजारीकरणसमेत सहज हुनुले स्थानीयको मोह बढेको हो । कृषि विकास कार्यालयका अनुसार यो वर्ष जुम्लामा ५ हजार ८ सय ८० मेट्रिक टन धान उत्पादन भएकोमा मार्सीको मात्रै हिस्सा ६५ प्रतिशत अर्थात् ३ हजार ८ सय २८ मेट्रिक टन छ । बाँकी धानमा चन्दननाथ–१, चन्दननाथ–२, लेकाली–१ र लेकाली–२ रहेका कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । ‘मार्सीको माग बढ्दै गएपछि किसानले पनि मिहिनेत गर्न थालेका छन्,’ उनले भने, ‘व्यापारिक हिसाबले यसले राम्रै फाइदा गरेको छ ।’
उनका अनुसार गत वर्ष जुम्लामा उत्पादित धानमा ५२ प्रतिशत हिस्सा मार्सीको थियो । ५ हजार ९ सय ६० मेट्रिक टनमध्ये मार्सीमात्रै ३ हजार ९९ मेट्रिक टन उत्पादन भएको थियो । ‘पहिले पहिले त मार्सी फाट्टफुट्टमात्रै लगाइन्थ्यो,’ उनले भने, ‘धेरै धान लगाउनेले मार्सी लगाउन छाडेका थिए, अब फेरि लगाउने बढेका छन् ।’
प्राचीनकालमा गुरु चन्दननाथ बाबाले तातोपानीको लिताकोटस्थित लाछु ज्युलोमा परीक्षणका रूपमा रोपेको मार्सी धान जुम्लाकै पहिचान बन्यो । सुरुमा स्थानीयले आफ्ना लागि ठिक्क मात्र खेती गर्ने मार्सी धान बिस्तारै कोसेलीका रूपमा जिल्ला बाहिर जान थाल्यो । अहिले भने व्यापारिक प्रयोजनकै लागि काठमाडौं, सुर्खेत, नेपालगन्ज र बुटवलजस्ता सहरका डिपार्टमेन्टल स्टोरहरूमा पुग्न थालेको छ ।
फाइदा बढ्न थालेपछि मार्सी लगाउने किसानको संख्या बढेको खलंगास्थित कोसेलीघरका सञ्चालक गोविन्द आचार्यले बताए । ‘मार्सी–व्यापार लोभलाग्दो गरी उकालो लागेको छ,’ उनले भने । कान्तिपुरमा खबर छ।