गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनमा सहभागी हुन अस्ट्रेलियाबाट नेपाल आएका अस्ट्रेलियन राहदानीवाहक रमेशकुमार थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले कानुनी कारबाही अघि बढाएको जनाएको छ ।
विमानस्थलमा लामो समय लाइनमा कुर्नुपरेको भन्दै पिए ७१०२५६६ नम्बरको अस्ट्रेलियन राहदानीवाहक थापाले आइतबार (असोज २६ गते) बेलुका डेस्क तोडफोड गरेका थिए । उनीमाथि अध्यागमन विभागले कानुनी कारबाही अघि बढाएको जानकारी गराउँदै नेपाली मूलका विदेशी नागरिकबाट विमानस्थलमा पटक-पटक हुने गरेको अभद्र व्यवहार नहोस् भन्दै अनुरोधसमेत गरेको छ ।
त्यसबखत थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाउनुका साथै कर्मचारीमाथि पनि अभद्र व्यवहार गरेका थिए । उनीसहित पाँचजनाको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । तोडफोड गर्ने थापालाई पक्राउ गरिएको र उनका अन्य चार साथीको कागजपत्र लिइएको विभागले जनाएको छ । काठमाडौंमा आजदेखि सुरु भएको एनआरएनएको नवौँ अधिवेशनमा सहभागी हुन विभिन्न मुलुकबाट करिब १५ सय प्रतिनिधि आएका छन् ।