प्रदेश नम्बर ५ मा दशैंको समयमा सवारी दुर्घटनामा परी २४ को ज्यान गएको छ । प्रादेशिक ट्राफिक कार्यालय प्रदेश नम्बर ५ बुटवलका अनुसार असोज १२ गतेदेखि २४ गतेसम्म प्रदेश अन्तर्गतका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० जना पुरुष र ४ महिलाको ज्यान गएको हो ।
सवारी दुर्घटना र ज्यान गुमाउनेको संख्या अघिल्लो बर्षको दशैंको समयमा भन्दा अहिले केही बढेको प्रादेशिक ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राम प्रकाश शाहले बताए ।
सवारी दुर्घटनामा परी रुपन्देही र पश्चिम नवलपरासीमा ४/४ जना, कपिलबस्तु, अर्घाखँची, प्युठान र रोल्पामा ३/३ जना, बाँकेमा २ तथा दांङ र बर्दियामा १/१ को ज्यान गएको शाहले बताए । दुर्घटनामा परी ६२ जना गम्भीर घाइते भएका छन् भने ५८ जना सामान्य घाइते छन् । अर्घाखाचीमा जिप दुर्घटना हुुदां दशै मनाउन हिडेका ३ जनाको ज्यान गएको थियो ।
दशैंको अवधिभर जम्मा ६० वटा दुर्घटना भएका छन् । ४१ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । जिल्लागत तहमा सबैभन्दा बढी बाकेमा १२ वटा दुर्घटना भए । रुपन्देहीमा १०, पश्चिम नवलपरासी र दांगमा ८र८, कपिलबस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्युठानमा ३र३, रोल्पामा २, अर्घाखाँची र गुल्मीमा १र१ वटा दुर्घटना भएका थिए ।
यो वर्षको दशैंको समयमा असोज १२ देखि असोज २४ गतेसम्म ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउने प्रदेश ५ का १२ जिल्लामा ६ हजार ७ सय ६३ सवारी साधनलाई कारबाही गरिएको सूचना अधिकारी शाहले जानकारी दिए । उक्त कारबाहीबाट ४० लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
सबैभन्दा बढी कारबाहीमा मोटरसाइकल चालकहरु परेका छन् । २३ सय ३९ वटा मोटरसाइकल तथा स्कुटर चालकलाई कारबाही गरिएको छ ।
जसबाट १४ लाख ५३ हजार ५ सय रुपैया राजस्व संकलन भएको थियो । त्यसैगरी सो अवधिमा १ हजार ५२ बस, १२ सय ७७ जिप/कार, टेम्पो २ सय २३, ट्रक १४ सय ४९, ट्र्याक्टर ४ सय २३ वटा कारबाहीमा परेका थिए ।