पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १, तल्लो गुणादीमा आइतबार बिहान जिप र बस ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु.१च ७०४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ग.१ख ४०२२ नम्बरको यात्रुवाहक बस ठोक्किँदा नवलपरासी सरावल गाउँपालिका १ का २१ वर्षीय जिप चालक रमेश थारुको मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते थारूको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।