खेती किसानी गर्नेहरु घट्दै गइरहेका बेला मकवानपुरमा रासायनिक मलको माग हरेक बर्ष बढ्दै जाने गरेको पाइएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड हेटौँडाले पछिल्ला तीन आर्थिक बर्षमा लक्ष्यभन्दा बढी मल बिक्री गरेको छ भने माग पनि सोही अनुसार बढ्दो क्रममा रहेको छ । कम्पनीको हेटौँडा शाखाले जनाए अनुसार गत आर्थिक बर्षमा ३८२५ मेट्रिक टन रासायनिक मल विभिन्न सहकारीहरुमार्फत किसानलाई बिक्री गरेको छ ।
अघिल्लो आर्थिक बर्ष २०७३÷७४ मा कम्पनीले ३७५९ मेट्रिक टन मल बिक्री गरेको कम्पनीका हेटौँडा शाखा प्रमुख शर्मिला घिमिरेले बताइन् ।
चालू आर्थिक बर्षको भदौ १२ गतेसम्ममा ३०४.९ मेट्रिक टन मल बिक्री भइसकेको उनले बताइन् । ग्रामीण क्षेत्रका मानिसहरु कृषिमा आश्रित हुने भएकाले बढी मलको माग हुन्छ भन्ने धारणा भएपनि मकवानपुरका अधिकाँश ग्रामीण क्षेत्रमा रासायनिक मलको ठूलो परिमाणको माग नरहेको उनले बताइन् ।
‘शहर क्षेत्रमै बेमौसमी तरकारी खेती गर्ने, बगैचा र गमलाहरुमा फूल रोप्नेहरुले समेत रासायनिक मलको प्रयोग गर्ने हुनाले बढी माग र बिक्री शहरी क्षेत्रमै छ’, शाखा प्रमुख घिमिरेले भनिन् । तर पछिल्ला केही बर्षयता मकवानपुरमा मलको अभाव वा हाहाकार छैन । बीरगञ्जस्थित कम्पनीको क्षेत्रीय कार्यालयले मकवानपुरमा सिजन अनुसार मागको अध्ययन गरी मल पठाउने गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडमार्फत किसानलाई अनुदानसहित प्राप्त हुने रासायनिक मल मकवानपुरका ७० भन्दा बढी कृषि सहकारी संस्थाहरुले खरिद गरी बिक्री गर्नेगरेका छन् ।