६४औँ प्रहरी दिवस र अमर प्रहरी दिवस प्रहरी मुख्यालय नक्सालमा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा कर्तव्यपालनाका क्रममा ४३ जनालाई 'अमर प्रहरी' घोषित गरियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले प्रहरी दिवस र अमर प्रहरी दिवस फरक दिनमा मनाउन सुझाए । ‘प्रहरी दिवस र अमर प्रहरी दिवस फरक-फरक दिनमा मनाउने गर्नुपर्छ । प्रहरी दिवस बेग्लै उल्लासको साथ मनाउनुपर्छ,' उनले भने, 'प्रहरी दिवस र अमर प्रहरी दिवस कार्यक्रम एकै दिन हुँदा उल्लासको साथ मनाउने कि श्रद्धाञ्जली दिएर दु:खी हुने द्विविधा भयो ।’
उनले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रहसमेत गरे । प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि ओलीको भनाइ थियो ।
‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नुपर्दैन । कुन पदको, कसले अपराध गर्यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीले अनुहार नहेरी कानुनको पालना गर्नुपर्छ ।’
उनले अपराध अनुसन्धानमा कसैको दबाब नसुन्न पनि प्रहरीलाई आग्रह गरे । दबाबले निष्पक्ष अनुसन्धान प्रभावित हुने भएकाले विधि र प्रक्रियाअनुरूप अघि बढ्नुपर्ने उनको तर्क छ ।
गृहमन्त्रीको निर्देशन, 'महिलामाथि हिंसा गर्नेलाई निस्तेज पार्नुस्'
कार्यक्रममै गृहमन्त्री रामबहादुर थापाले महिला तथा बाल-बालिकामाथि हुने हिंसाविरुद्ध शून्य-सहनशीलता अपनाउन प्रहरीलाई निर्देशन दिए । उनले यस्ता गतिविधिमा संलग्नलाई निस्तेज पार्न पनि निर्देशन दिए । जनताको भरोसा र विश्वास बोकेको सदस्यबाटै कानुन उल्लंघन हुनु क्षम्य नभएकाले बिनाहिचकिचाहट त्यस्ता व्यक्तिमाथि कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
‘आर्थिक अनियमितता, महिला तथा बाल-बालिकाउपर हुने हिंसाविरुद्धको हरेक क्रियाकलापविरुद्ध शून्य-सहनशीलता अपनाइ आपराधिक तत्त्व निस्तेज पार्न डटेर लाग्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु,’ गृहमन्त्री थापाले भने, ‘जनताको भरोसा र विश्वास बोकेको कानुन कार्यान्वयन गर्ने संगठनको सदस्यबाटै कानुन उल्लंघन भएको र आर्थिक अनियमितता गरेको कार्य कदापि क्षम्य हुँदैन । त्यस्तालाई कारवाही गर्न हुनै हिच्किचावट हुनेछैन ।’
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सबैको साथ सहयोगबाट अपराध निर्मूल पार्न सधैं अग्रसर रहने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्वएआईजी यादव अधिकारीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको थियो ।