फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि भएको विवादमा काभ्रे रोशी गाउँपालिका ११, मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ ।
'फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ,' जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, 'एक राउन्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ ।'
छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गिरीको भनाइ छ ।
रोशी गाउँपालिका ११, कालढुंगास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा दसैंका अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’ को आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ । -रासस