भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि भरतपुरमा साङ्घातिक आक्रमण भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोवलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।
प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौँ ल्याइएकाे छ । उनको अवस्था खतरामुक्त रहेको मल्लले जानकारी दिए । शाहीले काठमाडौँको अस्पतालमा उपचार गर्न चाहेको बताइएको छ ।
उनको खुट्टा, टाउको र शरीरमा चोट लागेको छ। आक्रमणमा घाइते भएका अन्य दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए । प्रहरी उपरीक्षक मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने दुइ जनालाई पक्राउ गरिएको छ ।
शाहीमाथि आक्रमण भएको खबर पाउनासाथ पुगेकाे प्रहरीले उद्धार गरेकाे थियाे। त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले चौविसकोठीमा शाहीले सम्बोधन गर्ने गरी गर्न लागिएको कार्यक्रमलाइ ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै बिथोलेका थिए । सो क्रममा माइक्रोबस तोडफोड भएको छ ।