डुबान तथा कटानको क्षतिपूर्ति माग गर्दै आएका कोसी पीडितहरुको आन्दोलन स्थगित भएको छ । दसैं नजिकिएसँगै आन्दोलन स्थगित गरिएको कोसी पीडित संघर्ष समिति अध्यक्ष महिदेवप्रसाद चौधरी बताउँछन् ।
कोसी सम्झौताअनुसार राहत र क्षतिपूर्ति नपाएको भन्दै कोसी नदी कटान डुबान, पीडित संघर्ष समितिका नामबाट साउन ३२ देखि उदयपुर, सुनसरी र सप्तरीका किसानहरु आन्दोलित थिए । उनीहरूले बाँधकै कारण डुबानमा परेको ५६ हजार बिघाको क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।
तत्कालीन सिँचाइमन्त्री महेन्द्र रायको पालामा ०६७ मा कोसी प्रभावित ७ हजार ६ सय ६३ बिघा ८ कठ्ठा २ धुर जग्गाका धनीलाई प्रतिबिघा १ लाख ५ हजार रुपैयाँका दरले ८० करोड क्षतिपूर्ति दिने आश्वासन दिएको भारतले एक दशक बितिसक्दा पनि दिएको छैन ।
सप्तकोसी नदीमा बाँध बनाएका कारण कोसी नदीको पानी बेलाबखत नेपाली बस्तीमा पस्ने र नेपाली विस्थापित हुने क्रम दशकौंदेखि चलिरहेको छ ।