सहरी विकास मन्त्रालयले बन्चरेडाँडामा निर्माण थालेको दीर्घकालीन फोहर संकलनस्थलको काम २ सातादेखि रोकिएको छ । बन्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ ।
लगातारको वर्षाले निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार, अहिले पहिरो पन्छाउने काम भइरहेको छ । उक्त काम सकेपछि निर्माणको काम अघि बढ्नेछ ।
डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी २ साताअघि निर्माणअन्तर्गत माटो मिलाइँदै थियो । अहिले निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनस्थलसम्म जान फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलबाट २ किमि टाढा पर्छ । केन्द्र सरकारले नै फोहर व्यवस्थापन गर्ने स्थान (ल्यान्डफिल) निर्माण गरिदिनुपर्ने काठमाडौँ महानगरपालिकाको मागअनुरुप सहरी विकास मन्त्रालयले निर्माण अघि बढाएको हो ।
निर्माणका लागि मन्त्रालयले ३८ करोड रुपैयाँ छुट्याएको छ । मन्त्रिपरिषद्को गत मंसिर १७ को बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण सहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको हो । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर बिसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।
निर्णयअनुसार बाँध निर्माणको काम मन्त्रालयले गर्ने र बिजर्सनस्थलसम्म जाने बाटो निर्माणको जिम्मा सडक विभागलाई दिइएको छ । २ वर्षका लागि भनेर विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा बिसर्जन गरिँदै आएको छ । सम्झौता गरिएको लामो समयसम्म पनि सिसडोलमै फोहर राख्दै आएकाले पछिल्लो समय त्यहाँका बासिन्दाले बिसर्जनस्थल अन्यत्र सार्न दबाब दिएपछि बन्चरेडाँडामा निर्माणको काम आरम्भ गरिएको हो ।
उपत्यकाबाट दैनिक करिब हजार टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २ सय गाडी फोहर लगिने गरिएको छ । -रासस