सरकारले विगतमा आफुहरुसंग गरेका सम्झौता कार्यान्वयन नगरेको नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले मंगलबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएको हो।
महासंघले यसअघि स्थगित भएको वार्ता चालू गर्न तथा विगतमा भएका सम्झौताको अक्षरशः लागू हुने प्रतिबद्धताका साथ सार्थक पहल कदमी लिन सरकारसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष बाबुराम थापाले नेपाली शिक्षाकर्मीहरुको माग सम्बोधन गर्ने तथा नयाँ प्रणालीमा शिक्षालाई व्यवस्थित गर्न आवश्यक रहेको शिक्षा नीति र शिक्षा ऐन समेत लामो समयसम्म जारी हुन नसकेको बताए।
२०७५ जेठ १३ गतेदेखि २०७५ मंसिर १४ सम्म महासंघको नेतृत्वमा शिक्षाको विकास तथा शिक्षकको पेशागत हितका पक्षमा विभिन्न माग राखी शिक्षकहरु आन्दोलित भएका थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आह्वानपछि महासंघ वार्तामा बसेको थियो। लामो समय लगाएर तीन पटक गरी थुप्रै विषयमा महत्वपूर्ण सम्झौता भएको र वार्तालाई निरन्तरता दिने सरकारी आश्वासन पुरा नभएको महासंघको भनाई छ। आफूसँग भएका सम्झौताबारे शिक्षा मन्त्रालयसँग पहल गर्दा मन्त्रालयबाट अहिले सम्झौता विपरित अभिव्यक्ति र निर्णय आउन थालेकोले महासंघको भनाई छ।