इलाम कारागारका १ सय ५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् ।
केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिराम आपसमा सर्दै जाँदा प्रायः सबै कैदी संक्रमित भएका हुन् । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, बान्ता हुने ज्वरो आउने लक्षण देखापरेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिए । ‘एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौ–धौ परेको छ,’ उनले भने, ‘धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमै उनीहरुको उपचार गरिएको छ ।’
कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो ।
‘शनिबार ७८ बिरामी मात्र थिए । आइतबार बढेर १ सय ५७ पुगेको छ,’ श्रेष्ठले भने, ‘अरू कैदीलाई पनि जोगाउन गाह्रो भएको छ ।’ कारागारमा अहिले २ सय ६० कैदी छन् । जहाँ सय पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २ सय ३७ पुरुष, २१ महिला र २ नाबालक छन् । -रासस