सामाजिक सेवाका क्षेत्रमा कार्यरत एउटा संस्थालाई एक लाख राशीको तुलसी मेहर समाज सेवा पुरस्कार दिने गरी सोमबार ४०औँ सामाजिक सेवा दिवस मनाईंदै छ।
गैरसरकारी संस्था र यसमा आबद्ध समाजसेवीहरुको मनोबल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न प्रत्येक वर्ष एउटा संस्था र सात समाजसेवीलाई पुरस्कार वितरण गरिँदै आइएको छ।
पुरस्कृत संस्था र व्यक्तिको नाम सोमबार नै सार्वजनिक हुनेछ। महिला, बालबालिका तथा सामाज कल्याणमन्त्री थममाया थापाले समाज सेवामा लाग्नका लागि पवित्र मन, बचन र कर्मको आवश्यकता पर्ने बताइन्।
समाज सेवामा लाग्न चाहने व्यक्तिलाई नयाँ संरचनामा कसरी समेट्ने भन्ने छलफल भइरहेको उनको भनाइ छ। उनले भनिन्, “प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको छ।”
समाज कल्याण परिषद्का सदस्य–सचिव राजेन्द्रकुमार पौडेलले समाजमा विस्तारै सेवाको भावना कम हुँदै गएको बताइन्।
असीभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मूल समारोहस्थलमा विकास प्रदर्शनी हुने छ। दिवस मूल समारोहमा उपस्थित हुन करीब एक हजार ८ सय पाहुनालाई निमन्त्रणा गरिएको छ।
सामाजिक सेवा दिवस मुलुकभर मनाउन ३२० सामुदायिक रेडियोसमेतलाई परिचालन गरिएको छ। २५ उत्कृष्ट लेख रचनासहितको सामाजिक विकास विशेषाङ्क विमोचन गर्ने कार्यक्रम छ।रासस