प्रदेश ५ को अस्थायी राजधानी बुटवल डेङ्गुको संक्रमणले त्राहिमाम बन्दै गएको छ। पछिल्लो १५ दिनमा संक्रमितको संख्या तेव्वर बढेको छ भने दुई जनाको ज्यान गइसकेको छ। तर यसको न्युनिकरणका लागि सरकारी तर्फबाट भएका प्रहल शुन्यप्राय छन्।
संघ र प्रदेशका उपस्थिति नै छैन भने स्थानीय तहले जनचेतनाका लागि काम औपचारिकतामा सीमित छन्। संक्रमितहरु दिनदिनै वढिरहे पनि सरकारीतर्फबाट डेङ्गु परीक्षणका लागि प्रयोग गरिने किट समेत उपलव्ध हुन सकेको छैन। डेङ्गुका विरामी उपचारका लागि जाने अधिकाश सरकारी अस्पतालमा यस्ता किटको अभाव छ।
तथ्याङ्क अनुसार रुपन्देही जिल्लामा झण्डै ५ सयको हाराहारीमा डेङ्गु संक्रमित बिरामी फेला परेका छन्। रुपन्देहीमा मात्र पछिल्लो १५ दिनमा डेङ्गुका कारण २ जनाको मृत्यु भईसकेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। आईतबार मात्र डेङ्गु संक्रमित सैनामैना ३ मुर्गियाकी शोभा परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ।
केही समयअघि प्रादेशिक अस्पतालमै उपचारको क्रममा कपिलबस्तुकी सावित्रा आर्चायको मृत्यु भएको थियो। रुपन्देहीमा अहिलेसम्म ४ सय ८४ जना डेङ्गु संक्रमित बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्र कुमार गिरीले जानकारी दिए। उनले सम्पर्कमा नआएका अरु धेरै विरामी हुन सक्ने उल्लेख गरे।
ज्वरो आउने वितिक्कै अस्पतालमा पुगेर सुरुमा रगत जाँच गर्नुपर्नेमा उनले जोड दिए। लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै अहिले १५० जना डेङ्गु संक्रमित बिरामी रहेको अस्पतालका मेडिकल रेकर्डर चन्द्रकान्त महोतोले जानकारी दिए। अस्पतालमा किटको अभाव हुँदा समस्या परेको उनको भनाई छ। दैनिक डेङ्गु संक्रमित बिरामी अस्पतालमा आउने गरेका छन् तर किटको अभावले उपचारमा समस्या रहेको महोताले गुनासो गरे।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंका अनुसार अहिलेसम्म देशभर साउनदेखि असोज महिनाको तथ्याङ्क अनुसार ७ हजार ३ सय ७० जनामा डेङ्गु संक्रमित बिरामी फेला परेका छन्।