स्याङ्जाको हरिनाश गाउँपालिका ३ लमहीमा एकै घरका बाबु र छोरालाई हत्या गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । स्थानीय ३३ वर्षीय दानबहादुर मल्ललाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । गत भदौ १७ गते ३० वर्षका चित्रबहादुर खड्का र ४ वर्षका छोरा रिजन खड्काघरमा राति सुतेको अवस्थामा हत्या भएको थियो ।
दानबहादुरकी पत्नी अनिता खड्काले हत्याको समयमा देखेको हुलिया अनुसार असोज १ गते दिएको किटानी जाहेरीको आधारमा मल्ललाई पक्राउ गरेको नायब उपरीक्षक भण्डारीले बताए । धारिलो हतियार प्रयोग गरी २ जनाको हत्या गरी फरार रहेका मल्ललाई आफूसहितको टोलीले पक्राउ गरेको भण्डारीले बताए ।
कर्तव्य ज्यानमा किटानी जाहेरी र अनुसन्धानबाट हत्यामा मल्लको संलग्नता देखिएपछि थप अनुसन्धान थालिएको छ । के कारणले हत्या गरिएको हो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । हत्या पश्चात हरिनाश लमहीमा प्रहरी प्रमुख राजकुमार लम्सालसहित तालिम प्राप्त कुकुरको टोलीले अनुसन्धान गरेको थियो ।