नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्र निर्माण तथा विश्व शान्तिका लागि भगवान महाविरका सिद्धान्त सदैब उपयोगी हुने बताएका छन्।
मैत्री दिवसका अवसरमा नेपाल जैन परिषद्द्धारा शनिबार राजधानीमा आयोजित कार्यक्रमका उपसभापति निधिले जैन तीर्थकर भगवान मल्लिनाथ तथा नमिनाथको जन्मस्थान जनकपुरमा जैन समाजबाट गरिने सबै कार्यमा पूर्ण सहयोग प्रदान गर्ने आश्वासन दिए।
सो अबसरमा उपसभापति निधिले यस बर्ष आत्मकल्याणका लागि तपस्या गर्ने २९ जनालाई अभिनन्दन पत्रसहित अभिनन्दन गरेका थिए। जैन धर्ममा आत्मकल्याणका लागि तपस्यालाई सर्बोपरी स्थान दिइएको छ।
कार्यक्रममा नेपाल जैनपरिषद्का अध्यक्ष दिनेशकुुमार नौलाखेले जैनपरिषद् तथा पर्युषण महापर्वको महत्वमाथि प्रकाश पारेका थिए। यसैगरी कार्यक्रमका सभापति फूलकुमार लालवानीले जैन परिषद्ले स्थापना कालदेखि नै सामाजिक, धार्मिक एवं परोपकारी काम गर्दै आएको उल्लेख गरे।
यसैबीच, तेरापन्थ युवक परिषद्द्धारा आयोजित बृहत रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेका थिए।