सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने।
खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे। एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो। खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन्।
ढलको मंगाल पनि खुलै छाडिएको छ। चाबहिलका प्रकाश ढकालका अनुसार चाबहिल–चुच्चेपाटी सडक काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन कार्यालय काठमाडौं, उपत्यका सडक विस्तार आयोजना, केयुकेएललगायत निकायले ढल र खानेपानीको पाइप राख्ने नाममा बारम्बार खन्दै, पुर्दै आएका छन्।
एक वर्षमा चारपटकसम्म सडक खन्ने गरिएको छ। उनले भने, ‘सडक खनेर भत्काउने र पुर्ने काम २०७२ सालबाटै हुँदै आएको छ। दुई महिनाअघि पनि ढलको पाइप राख्न भनेर सडक खनियो। खनेको केही समयपछि पुरियो। फेरि ढल मर्मतका नाममा खनिएको सडक पुरिएको छैन। विकासका नाममा अनावश्यक खर्चसँगै सर्वसाधारणले दुःख भोग्नुपरेको छ।’ सडक खन्दै, पुर्दै गरे पनि अहिलेसम्म कालोपत्रे भएको छैन।
उनले बिगारेको सडक तत्काल पिच गर्नुपर्ने बताए। ‘सडक बारम्बार खन्ने र पुर्ने मात्रै भएको छ,’ ढकालले भने, ‘तर सडक पिच हुन सकेको छैन। पानी परेका बेला पानी जमेर पोखरी बन्छ। सर्वसाधारण ओहोरदोहोर गर्न सक्दैनन्।’
काठमाडौं उपत्यकाका सडकको दुरवस्थामा सुधार नआउँदा मारमा सहरवासी परेका छन्। अहिले पनि कपनको साततले, चाबहिलको सरस्वती नगर, बबरमहललगायत स्थानका सडक खन्ने, पुर्ने, फेरि खन्ने काममात्र भइरहेको छ। सरस्वती नगरको सडक एक वर्ष पहिलेमात्रै पिच भएको थियो। तर ढल हाल्ने नाममा अहिले उक्त सडक खनेर लथालिंग बनाइएको छ। नागरिक दैनिकमा खबर छ।