चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सामुदायिक विकासका लागि चालू आवमा १४ करोड ९ लाख रुपैयाँ बजेट निकासा भएको छ ।
गत आवमा संकलित राजस्वमध्येको झन्डै आधा रकम सामुदायिक विकासमा विनियोजन भएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आवमा २९ करोड १० लाख राजस्व संकलन भयो । अघिल्लो वर्षको राजस्व संकलनको तुलनामा निकै कम बजेट विनियोजन भएको थियो । गत आवमा यो शीर्षकमा ७ करोड ६९ लाख रुपैयाँ विनियोजन भएको घिमिरेले बताए ।
सामुदायिक विकासमा निकासा भएको बजेट निकुञ्जका २१ मध्यवर्ती उपभोक्ता समिति र एउटा उपसमितिमार्फत खर्च हुन्छ । प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्ज प्रभावित क्षेत्रलाई ३ भागमा बाँडेर बजेट विनियोजन गरिएको र बजेट ५ शीर्षकमा खर्च गरिने बताए । -रासस