समुदायका वञ्चित समूहका लागि पनि प्राथमिक उपचारको ज्ञान र सीप दिनुपर्ने कुरालाई जोड दिँदै ‘वञ्चित समूहका लागि प्राथमिक उपचार’ भन्ने मूल नारासहित नेपालमा पनि विश्व प्राथमिक उपचार दिवस आज मनाइदै छ ।
प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकलाई सम्मान बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारका दिनमा पर्ने विश्व प्राथमिक उपचार दिवसका सन्दर्भमा विभिन्न जिल्लामा नेपाल रेडक्रस सोसाइटीले कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
दिवसको राष्ट्रिय कार्यक्रम यसपटक भदौ २५ देखि २८ गतेसम्म अर्घाखाँचीको सन्धिखर्कमा आयोजना भइरहेको र नेपाल रेडक्रसले प्राथमिक उपचार कृत्रिम घटना अभ्यास प्रवर्धन, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन र प्रतियोगितात्मक गतिविधि आयोजनाको गरिरहेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए।
यसै सन्दर्भमा अर्घाखाँचीमा भएको शुक्रबारको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसका अध्यक्ष संजीव थापाले वञ्चितिकरण र संकटमा रहेका मानिसलाई प्राथमिक उपचारको चेतना र ज्ञान दिन समुदायमै रहेका स्वयंसेवक परिचालन गरिदै आइएको भन्दै स्थानीय स्वयंसेवकबाट मात्रै त्यस्तो समुदायमा पुग्न सम्भव भएको बताए । रेडक्रसको ५ नं। प्रदेश प्रमुख शम्भुप्रसाद पोखरेलले नारालाई सफल बनाउन वञ्चित समूहहरूलार्ई केन्द्रित गर्दै प्राथमिक उपचारको सीप अभिवृद्धि गर्न सबैबाट सहयोगको आवश्यक रहेको बताए ।
नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । जस अनुसार हालसम्म मुलुकभर एक हजार दुइसय दक्ष प्रशिक्षक र ३३ हजार दुई सय जना प्राथमिक उपचार स्वयंसेवक विकास गरिएको छ । यस वर्ष २०७६ मा मात्र एक हजार दुइसय ६५ ले देशभरमा प्राथमिक उपचार सेवा प्राप्त गरेका छन् । नेपाल रेडक्रसका ७७ वटै जिल्ला शाखासँग आधारभूत प्राथमिक उपचार प्रशिक्षण र सेवा सञ्चालन गर्ने क्षमता विकास गरिएको छ ।