राष्ट्रिय जनगणना–२०७८ को तयारीको सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागले अन्तरक्रियामा भाषा तथा जातजाति सम्बन्धमा विगतमा भएका त्रुटि नदोहोर्याउँन सुझाव दिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागमा भएको सो अन्तरक्रियामा सहभागी विज्ञले तीनवटा कार्यपत्र प्रस्तुत गर्दै आव आउने जनगणनामा भाषा र जातजातिसम्बन्धी तथ्याङ्क तथ्यपरक तथा भरपर्दो बनाउने प्रयास गर्नुपर्ने सुझाव दिएका हुन् ।
राष्ट्रिय भाषा आयोगका सल्लाहकार दानराज रेग्मी, केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछाने तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसङ्ख्या अध्ययन विभागका प्राध्यापक बालकृष्ण मावुहाङले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले कुनै पनि भाषाको अस्तित्व मेटाउनु हुँदैन तर विदेशी अनुसन्धानदाताले थोपरेका भाषाले विभाजन ल्याएको बताए। राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा कृष्णप्रसाद ओलीले देशको समृद्घिमा भाषाको महत्वपूर्ण योगदान हुने हुनाले भाषाका सही तथ्याङ्क आउनुपर्ने बताउनुहँुदै सोका लागि आयोगले सहयोग गर्ने बताए । उनले यसपटकको गणनामा त्रुटि सच्याउनुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले २०७८ को जनगणनाबाट आउने तथ्याङ्क सत्यतथ्यमा आधारित हुनुपर्छ र समाजले ग्रहण गर्नसक्ने खालको हुनुपर्नेमा जोड दिए । उनले जनगणनाले ‘समृद्घ नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न सघाउने विश्वास व्यक्त गरे ।