जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्य समिति विघटनलाई सर्वोच्च अदालतले बदर गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको थापा नेतृत्वको रेडक्रसको कार्यसमिति विघटनलाई बदर गर्ने निर्णय गरेको हो। सर्बोच्चको यो फैसलापछि अध्यक्ष थापा नेतृत्वको रेडक्रसलाई साधारण सभा र निर्वाचन गर्नका लागि बाटो खुलेको छ।
‘कानुनको उचित प्रक्रिया अनुशरण नगरी आरोपको भरमा थापा अध्यक्ष रहेको कार्यसमितिलाई साधारणसभा र निर्वाचन समेतका कार्य गर्न नदिनु संस्था दर्ता ऐन २०३४ को दफा ११ र नेपालको संविधानको धारा १७(९)(घ) समेतको बर्खिलाप देखिँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७६ वैशाख २२ गते र जेठ ६ गतेको पत्राचार तथा सोसँग सम्बन्धित निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ।
सर्वोच्चको आदेशमा रेडक्रस सोसाइटीको केन्द्रीय समितिको निर्धारित कार्यकाल समाप्त भई रेडक्रस सोसाइटीको साधारणसभा र निर्वाचन गर्ने तर्फ केन्द्रित रहेको पाइएको ठहर्याइएको छ।
‘निर्वाचनलाई नै केन्द्रित गरी कार्य गर्नुपर्ने भएबाट सकेसम्म छिटो साधारणसभा गर्ने अपेक्षाका साथ नयाँ कार्यसमिति नबनेसम्म थापा अध्यक्ष रहेको केन्द्रीय कार्यसमितिको नियमित कार्य र साधारणसभा एवं निर्वाचन समेतका कार्यहरुमा कानूनको अख्तियारी बाहिर गई कुनै हस्तक्षेप नगर्नु नगराउनु।’
थापा अध्यक्ष रहेका कार्यसमितिलाई विघटन गरी जेठ ६ गते विश्वकेशर मास्केको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो। अध्यक्ष थापाले जिल्ला प्रशासन कार्यालय तथा साधारणसभाको तयारी भइरहँदा गठित केन्द्रीय कार्यसमितिलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि २०७६ वैशाख २३, २४ र २५ गतेका लागि तय भएको साधारणसभा र निर्वाचन कार्यक्रम रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्राचार गरेपछि निर्वाचन स्थगि गरिएको थियो।
‘न्याय मर्दैन, सत्य हार्दैन’
फैसलापछि अध्यक्ष थापाले सर्बोच्च अदालतको फैसलाको स्वागत गरेका छन्। स्पेसखरसंग कुरा गर्दै अध्यक्ष फैसलालाई सकारात्मक र न्यायिक भएको प्रतिक्रिया दिए। ‘न्याय मर्दैन, सत्य हार्दैन भनेर एक पटक पुनः पुष्टि भएको छ’ अध्यक्ष थापाले भने ‘यो फैसलाबाट रेडक्रसलाई काम गर्न मार्गप्रशस्त पनि भएको छ।’
रेडक्रसको साधारण सभाबाट बजेट पास गरेपछि तत्कालै निर्वाचन प्रकृया अघि बढाउने उनले उल्लेख गरे।साधारणसभा नरोक्नु भन्ने फैसला आएकोले अब आफूहरुको ध्यान साधारण सभाबाट बजेट पास गरेपछि ताजा जनादेशबाट अघि बढ्नु भएको अध्यक्ष थापाले बताए।