पूर्वी तराईको उदयपुर जिल्लामा पर्ने त्रियुगा नगरपालिका सम्भवत नेपालमै नमूना नगरका रुपमा स्थापित हुंदैछ । कारण हो– ३ बर्ष अघिसम्म वार्षिक २ करोड ३० लाख आन्तरिक राजस्व उठाउने यस नगरपालिकाले अहिले २१ करोड आन्तरिक राजस्व संकलन गरिरहेको छ ।
यसले पनि नगरभित्रको विकाशको आंकडालाई प्रष्ट्याउंछ । ‘स्वस्थ, शिक्षित, समृद्ध र उद्यमशील शहर–समावेशी, समुन्नत समृद्ध त्रियुगा नगर’ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका नेपालकै नमूना नगर मध्यको एक का रुपमा स्थापित भएको छ ।
बि.सं. २०५४ सालमा नगरपालिका घोषणा गरिएको यो क्षेत्रमा पछिल्लो समय महिला उद्यमशलिता संख्यामा पनि निक्कै बृद्धि भएको छ । स्थानीय स्तरमा भएका प्राकृतिक स्रोत–साधन परिचालन गरी नगरभित्रै बिबिध उद्यम तथा व्यावासायिक गतिबिधी सञ्चालन गरी यहांका महिलालाई आर्थिक शसक्तिकरणको बाटोतर्फ उन्मुख गराउन सफल भएको त्रियुगाका मेयर बलदेव चौधरी बताउँछन् ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी भन्छन्–‘हामीले बिगत केही समय यता आन्तरिक स्रोत साधनलाइ भरपुर रुपमा परिचालन गर्यौं । ६ बिघा भन्दा बढी क्षेत्रफलमा पुर्वाञ्चलकै सबैभन्दा ठुलो थरुहट रंगशाला निर्माण गर्यौं जहां उदयपुर गोल्डकप लगायत अन्य खेलकुद हुंदै आएको छ । त्रियुगा सभ्यता र विकाश अन्तर्गत ४२ दशमलव ५ दांया र ४२ दशमलव पांच बांया गरी सप्तकोशी जोडिने८५ किलोमिटरको त्रियुगा करिडोर निर्माण अन्तिम चरणमा पुगेको छ ।’
त्यसबाहेक यस नगरभित्र ‘खानी, कृषि, पशु र बन–उद्योग, व्यापार, पर्यटन त्रियुगाको धन’ नारा सहित सामुदायिक वन , आवादी तथा उद्योग व्यापारका लागी स्थानीय स्रोत–साधन परिचालन गरिएको छ जसमा उदयपुर सिमेन्ट समेत पर्दछ ।
नगरपालिकाले अन्तराष्ट्रिय कम्पनी लिब्राटेक्नोलोजीसंगको सहकार्यमा इट अभियान अन्तर्गत नदी किनारको खेर गएको जग्गा मध्ये डेढ सय बिधामा १ सय मेगावाटको सोलार उत्पादन शुरुवात गरिसकेको छ भने सोही क्षेत्रमा पर्ने पहाडी भेगमा ५ मेगावाटको विण्ड पावर उत्पादन तयार हुदैछ । ‘सोलार र विण्ड पावरको काम अबको डेढ देखि २ बर्षमा सम्पन्न भइसक्छ’–लिब्राटेक्नोलोजीका श्याम पाण्डे भन्छन्,‘ त्यसपछि त्रियुगामा सोलार र हावाबाट बिद्युत उत्पादन हुन्छ ।’
बेलदोभान देखि रौता पुग्न २१ सय मिटर उकालो उक्लिनुपर्छ, सो हाइटलाई जोड्नका लागी वरुवामा ड्याम बांधेर केवलकार निर्माणको काम तिब्र गतिमा अगाडी बढिरहेको बताउंदै मेयर चौधरी भन्छन्–‘रौताबाट७ वटा नदी निस्किएको छ यसलाई पर्यटकीय स्थल बनाउनेमा हामी लागिरहेको छौं ।’
फोहोरबाट खाना पकाउने, गाडी चलाउने तथा कृषिका लागी आवश्यक, मल र ग्यांस निकाल्ने देखी लिएर खसी–कुखुरा उत्पादन, दुग्ध उत्पादन, तरकारी खेतीमा यहांका महिला व्यस्त देखिन्छन् । मेयर चौधरी भन्छन्–‘त्रियुगा नगरपालिका भित्रका करिब ७० प्रतिशत महिला उद्यमशील बनिसकेका छन् । उनीहरु आत्मनिर्भर मात्र होइन पारिवारिक र सामाजिक स्तरमा नेतृत्व तथा निर्णायककर्ता बनिसकेको अवश्था छ ।
महिलाकै पहलमा यस नगरपालिकामा अपराधरहित समाज निर्माणका लागी नगरदेखी घर–घरसम्मको अभियान शुरु गरिएको छ जसले घरेलु हिंसा, लागु औषध तथा मदिरापान शुन्य पार्न घरदैलो सचेतनामुलक कार्यक्रमलाइ जोड दिएको छ ।’ त्यति मात्र नभएर सुरक्षित घर अभियान अन्र्तगत यस नगरभित्र राष्ट्रिय बिमा संस्थानसंगको सहकार्यमा गरिब तथा विपन्न परिवारका लागी प्रतिघर १० लाखका दरले बीमा सेवा उपलब्ध गराइएको छ । यहांका निम्नस्तरका महिला समेत तरकारी खेती, पशुपालन, सौन्दर्य र सिलाइ–कटाइ तालिम पश्चात व्यावसाय लगायत अन्य घरेलु उद्यम द्धारा आर्थिक लाभ गर्न सफल भइसकेका छन् भने करिब दुइ दर्जन बढी महिला सामाजिक अगुवामा दरिएका छन् ।
त्यसका अलावा यस नगरपालिकाका १६ वटै वडामा वर्थिङ सेन्टर, खेलकुद सेन्टर स्थापना लगायत वातावरणिय हिसावले स्वस्थ र आकर्षक बनाउन बृक्षारोपण लगायतका काम सम्पन्न भईसकेको त्रियुगा विकाशका लागी सहकार्य गरिरहेका श्याम पाण्डेले बताए । मेयर चौधरी भन्छन्–‘ यही रफ्तारमा विकाशको गति अगाडी बढ्ने हो भने यहांका महिलाले रोजगार सृजना गर्न धेरै दिन कुर्नुपर्दैन् ।’