दिनहुँ झमझम पानी परी रहेर धान गोड्न खेतमा हुनुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि महाेत्तरीका किसान अनिकालको चिन्ताले पिरोलिएका छन्।
लामो खडेरीले धान रोपिएको खेत चिरा परेर (धाँजा फाटेर) रोपो पहेँलिदै गएपछि किसान अनिकालको चिन्ताले पिरोलिएका हुन्। महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत साउनमध्ययता नै पानी परेको छैन।
“वर्षाकाल (याम) भनिने साउन-भदौमा दिनभरि प्रचण्ड घाम र रातभरि आकाशमा तारा देखिन्छन्, पानी पर्ने कुनै छाँट देखिँदैन”, जलेश्वर नगरपालिका–५ का किसान रहिमन मण्डलले भने, “यसपालि अब धान बौरिने (पँहेलिएको रोपो हरियो हुने) देखिँदैन।” जिल्लाको मुख्यबाली धान खेतमा पहेँलिएर सुक्दै गएपछि रहिमनजस्तै सबै किसान अहिले चिन्तित छन्।
जेठ-असारको लामो खडेरीले धानको बीउ हुर्काउन नसक्दा रोपाइँको उपयुक्त बेला असारे पन्ध्रताका यहाँका किसानले धान रोप्न पाएनन्। असार अन्तिम सातामा बाढी र डुबानले थिलथिल्यायो।
साउन १५ यता फेरि लामो खडेरी परेपछि थोरैतिनो रोपिएको धान पनि खेतमै सुकेपछि यसपालि धान भित्र्याउने आस मरेको महोत्तरी गाउँपालिकाको हरिगोरीगम्मा गाउँका किसान रामगुलाम पासवान बताउँछन्।
जिल्लामा करीब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरको सेरोफेरोमा हिउँदे धानखेती हुँदै आए पनि यसपालि मौसमको प्रतिकूलताले ३५ हजार हेक्टरभित्र मात्र धान रोपाइँ हुनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
पछिल्लोपटक रोपिएको धान पनि साउन १५ यताको खडेरीको मारमा परेको कार्यालयको जलेश्वर सम्पर्क कार्यालयका कृषि प्राविधिक रामकैलाश साहको भनाइ छ। जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशतमात्र सिञ्चित (कुलो, नहरको पानी लाग्ने) छ।
यसबाहेक सबै जग्गा आकाशे पानीका भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन्। यसपालि त सिञ्चित भनिएका जग्गाको पानीका स्रोतको लामो खडेरीले मुहान सुकाएपछि यस्ता खेतमा पनि धाँजा फाटीरहेका बर्दिवास नगरपालिका–३ कालापानीका किसान नरबहादुर पुलामीले बताए।